पशुपतिनाथ ९ महिनापछि खुल्दै, राष्ट्रपतिले गरिन् क्षमासहित पूजा

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तजनका लागि ९ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मन्दिर खुला गर्न बाध्य भएपछि क्षमा माग्न भन्दै राष्ट्रपति भण्डारीले मंगलबार पूजा गरेकी हुन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको जानकारी दिए ।

यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन आह्वान गरेको छ ।मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन । पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिनेछ ।

मन्दिर खुलाउन विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिकरुपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि बन्दर हुँदा कोषलाई करीब ७० करोड घाटा लागेको बताइएको छ ।