अध्यादेशले ल्यायो तरंग, संवैधानिक परिषद्को बैठकमा नियुक्तिबारे छलफलमात्र

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं,१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी पछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग उब्जिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक परिषद्को बैठक डाँके पनि गणपुरक संख्या पुर्‍याउन सकेका थिएनन् । संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ ।

सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाँकिएको बैठक पनि स्थगित भएको थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीले मंगलबार साँझ बोलाएको परिषद्को बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी बताए ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । सभामुख अग्नि सापकोटा भने उपस्थित भएनन् । उनी बिहानको बैठकमा पनि उपस्थित थिएनन् । हाल संसदमा उपसभामुख पद रिक्त छ ।

राष्ट्रपति अध्यादेश जारी गरिसकेपछि भने नेकपा शीर्ष तहका नेता एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत विरोध जनाउँदै तत्काल फिर्ताको माग गरेका छन् ।