पोखरामा २२ औं सडक महोत्सव तयारी

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



पोखरा, १ पुस । कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरामा विगतमा झैं पोखरा सडक महोत्सवलाई निरन्तरता दिने भएको छ ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले अंग्रेजी नयाँ वर्ष अवसरमा पुस १५ देखि १७ गतेसम्म लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव तयारी गरेको जनाएको छ ।

पोखरामा बुधबार पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव तयारी गरिएको जानकारी दिए ।

विगतमा पुस १३ देखि १७ सम्म ५ दिनका लागि हुने महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोकहुँदै जरेवरसम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैनन् ।

यसैबीच, पोखराका होटलहरुले विगतमा कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जनाएका छन् ।