ओभरड्राफ्ट ऋणमा राष्ट्र बैंकको कडा निर्देशन, बढीमा ५० लाखसम्म मात्र ऋण पाइने

-



     सफल आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट ऋणका सम्बन्धमा कडा नीति लिएको छ । बैंकले बुधबार जारी गरेको निर्देशनमा ओभरड्राफ्ट ऋण बढीमा ५० लाखसम्म दिन पाईने व्यवस्था गरेको छ । यस प्रकारको ऋणलाई दोहोरिन नदिने भन्दै बैंकले नीति जारी गरेको हो । यसअघि ऋणीलाई धेरै संस्थाहरुबाट ऋण लिन रोक थिएन । एउटा संस्थाले ५० लाखसम्मको ओभरड्राफ्ट दिने व्यवस्था रहेको थियो ।

जारी नयाँ नीति अनुसार अब ऋणीले अन्य संस्थाबाट ऋण लिएको नलिएको बारेमा प्रष्ट भएपछि मात्र ५० लाखसम्म ऋण दिन लिन पाईने निर्देशिकामा लेखिएको छ । यस्तै ऋणीले कुनै एक संस्थाबाट २० लाख ओभरड्राफ्ट ऋण लिएको छ भने अर्को संस्थाबाट ३० लाख माथिको ऋण लिनमा रोक लगाईएको छ । अर्को संस्थाबाट ३० लाखसम्मकाे मात्र लिनुपर्नेछ । दुबैको गरी ऋणीको ऋण ५० लाख भन्दा माथि हुनु हुँदैन भनिएको हो ।

राष्ट्र बैंकले एकभन्दा बढी संस्थाबाट रकम लिएको भए आउँदो असार महिनाको अन्त्यसम्म फरफारक गर्नुपर्ने पनि निर्देशनमा लेखिएकाे छ । अबका दिनमा कर्जा प्रदान गरेपछि उक्त कर्जा सही रुपमा प्रयोग भएको छ वा छैन त्यसको यकिन गर्न पनि निर्देशनमा जनाइएकाे छ ।

राष्ट्र बैंकको निर्देशनमा लेखिएको छ : ‘विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रयोजनाा नखुलेका कुल व्यक्तिगत अधिबिकर्ष कर्जा अधिकतम प्रति व्यक्ति रु ५० लाखसम्म मात्र प्रवाह गर्न सकिनेछ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मा कर्जा प्रवाह गर्नु पर्नेछ । यसअघि बहुबैंकिङ्ग कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिबिकर्ष कर्जा रु ५० लाखसम्म कायम गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।’