कोरोना बीमा भुक्तानी दर बढ्यो, १ अर्ब १९ करोड बढी रकम भुक्तानी

- बीमा गर्ने सबैले पैसा पाउनुहुन्छ ढुक्क हुनुस्ः अध्यक्ष चापागाईं

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । कोरोना बीमा दावी भुक्तानीको दर बढेको छ । भुक्तानीमा केहि समय अघि ढिला भएको व्यापक गुनासो आएको थियो । तर पछिल्ला केहि दिन यता भुक्तानीको दर निकै बढेको पाइएको छ ।

बीमा समितिका अनुसार बिहीवारसम्म पूर्ण कागजातसहित २३ हजार ५६ ओटा दाबी आवेदन आएका छन् । तीमध्ये १२ हजार १९३ ओटाको दाबी भुक्तानी भइसकेको बीमा समितिले जानकारी दिएको छ । रकमका आधारमा हालसम्म १ अर्ब १९ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी भएको समितिले बताएको छ ।

५ हजार ६०६ ओटा आवेदन स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणका लागि पठाइएको छ । तीमध्ये ३ हजार ५२ ओटा आवेदन स्वीकृति भएर आएका छन् । अन्य आवेदन भने स्वीकृतिका लागि पाइपलाइनमा छन् । यस्तै, १ हजार ११ ओटा आवेदन मन्त्रालयमा स्वीकृतिका लागि पठाउन तयार भएको छ भने ३ हजार ५६६ ओटा आवेदन प्रमाणीकरणको चरणमा छन् । यसका अलावा १ हजार ५७१ ओटा आवेदन कागजपत्र पूरा नभएपछि कम्पनीहरूलाई नै फिर्ता गरिएको छ ।

बीमा गरेकाले भुक्तानी पाउनुहुन्छः अध्यक्ष चापागाईं

बीमा क्षेत्रको नियामक निकाय बिमा समिति हो । अर्थमन्त्रीले पटकपटक निर्देशन दिँदा पनि कोरोना बीमा भुक्तानीमा आनाकानी भएको भन्दै समितिको आलोचना भएको छ ।

अझ कतिपयले त भुक्तानी पाइदैन कि भनेर आत्तिएका छन् । तर समितिका अध्यक्ष चिरञ्जीवि चापागाई बीमा गरेका सबैले भुक्तानी पाउने बताउँछन् । प्रक्रिया पुरा गर्दा केहि ढिला भए पनि सबैले रकम पाउने उनले बताए । तर यसका लागि दावी सम्बन्धी मापदण्ड भने पुरा गर्नु पर्ने उनको भनाई छ ।

‘धेरै कागजात पुरा नगरी कम्पनीहरुले फाइल पठाएको पाइयो, ढिला हुनुको कारण यो पनि हो’ अध्यक्ष चापागाईंले भने, ‘ तत्कालै यो कागजातहरु पुरा गर्नुस् भनेर कम्पनीहरुलाई निर्देशन दिइसकेका छौंँ, भुक्तानी रकम मापदण्ड पुगेका सबैले पाउनुहुन्छ ।’