
काठमाडौं, ३ पुस । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो । समितिका सचिव डा रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए ।
स्वास्थ्य सामग्री खरीद प्रकरणमा बजेटको स्रोत यकिन नगरी र लागत अनुमान तयार नगरी सीधै प्रस्ताव माग गरेर खरीद प्रक्रिया अघि बढाई सम्झौता गरिएपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखी पठाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । यस्तै खरीदमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरीद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको पाइएको समितिले जनाएको छ ।
विभागीय प्रमुखले आफू खरीद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको समितिले जनाएको छ । बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा अनियमिता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको बताउनुभएको थियो । “स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उहाँले भन्नुभयो । विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरीदमा केही महँगो परेको उहाँको प्रष्टोक्ति थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



