व्यवसायीकै हितकाे पक्षमा काम गर्छाैं, अध्यक्ष गाेल्छा

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यवसायीकै हक हितकाे पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताउँदै महासङ्घलाई अझ सुदृढ संस्थाका रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको बताएका छन् । उनले भने, हामी उद्याेग व्यवसायीकै हितकाे लागि काम गर्छाैं, महासंघ तपाँइकाे साथमा छ।

नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी एवं वस्तुगततर्फका कार्यकारिणी समितिका सदस्यलाई सम्मान गर्न आयाेजित कार्रयक्रममा उनले व्यावसायीक क्षेत्रमा परेकाे असरका बारेमा महासङ्घ जानकार रहेकाेले स्पष्ट मार्गचित्रका साथ आउन लागेकाे बताए ।

उक्त अवसरमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले उद्योग वाणिज्य महासङ्घका विगतका नेतृत्वले निर्माण व्यवसायीका समस्या समाधान गर्न नसकेको गुनासो गरे । “निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका सङ्घ संस्थाबीच सहकार्यको विकल्प छैन” उनले भने ।

निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघकाे वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए । निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले महासङ्घको पूर्वाधार विकासका क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए ।