दुई दिने नेपाल लिटरेचर फेस्टिभलमा १५ सेसन

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ पुस । पोखरामा नियमित रुपमा संचालन हुँदैआएको नेपाल लिटरेचर फेस्टिभलको कोरोना महामारीका कारण यसपालि भर्चुअलरुपमा हुने भएको छ ।

फेस्टिभलको नवौं संस्करण पर्यटकीय क्षेत्र सराङ्कोटमा पुस १४ र १५ मा हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बुकवर्म फाउण्डेसनले जानकारी दिएको छ । आईएमईको प्रायोजनमा हुने सो महोत्सवमा यसपालि १५ सेसनमा ४० जना वक्ता जुट्नेछन् । फेस्टिभलका सबै सत्रहरु सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक यूट्यव च्यानलबाट लाइभ प्रसारण हुने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार, विशिष्ट व्यक्तित्वका वक्ता रहनेछन् ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले कोरोनाकालको समयमा समेत भौतिक रुपमा भए पनि फेस्टिभललाई निरन्तरता दिने हेतुले आफूहरु अघि बढेको बताए ।

‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सन् २०११ देखि झम्सिखेलबाट सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्र प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदैआएको आयोजकको दाबी छ । यसप्रकारको साहित्यिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तिलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्र शक्तिशाली बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

फेस्टिभलका सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरा चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । उनले सञ्चारमाध्यमसँगै शुभचिन्तकको बलियो साथले फेस्टिभल सफल हुने अपेक्षा गरे ।

आयोजक संस्थाकी सदस्य अनिकर्मले फेस्टिभलको माध्यमबाट पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएको बताइन् ।

नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकता राखेको गण्डकी प्रदेश सरकारका लागि पनि फेस्टिभलले टेवा पु¥याउने विश्वास गरिएको फेस्टिभलका सदस्य भरत कोइरालाले जानकारी दिए।

फेस्टिभलका वक्ता एवं मध्यस्थकर्ताहरु ।