प्रधानमन्त्री ओलीको कित्तामा बलियाे भएर उभिए गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विपक्षमा उभिदैं ७ जना मन्त्रीहरुले पदबाट सामुहिक रूपमा राजिनामा दिए पनि प्रधानमन्त्री ओलीका केहि प्रभावशाली मन्त्रालय सम्हालेका मन्त्रीहरु ओलीकै कित्तामा उभिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादल तथा उद्योगमन्त्री लेखराज भट्ट तत्कालिन माओवादी एकिकरणपछि बनेको माओवादी केन्द्र र अहिलेको नेकपाका प्रभावशाली नेता र मन्त्री हुन । दुवैजना प्रचण्डको कार्यशैलीलाई त्यति नरुचाएका नेताहरु हुन । जो अहिले प्रधानमन्त्री ओलीको पक्षमा दरिलो भएर उभिएका छन् ।

उता प्रचण्ड र माधव नेपाल पक्षधर मानिएका मन्त्रीहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पनि आफ्नो कित्ता राजिनामाबाट स्पष्ट गरिसकेका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादल सरकारमा गएपछि प्रधानमन्त्री ओली निकटका मानिदै आएका थिए । आईपरेको बेलामा पूर्व माओवादी नेताहरु एकठाउँमा उभिने प्रचण्ड पक्षको आशामा भने तुषारापात भएको छ । सचिवालय बैठकमा गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीको पक्षमा आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेकपाको स्थायी समितिको बैठकमा प्रचण्डले गृहमन्त्री थापा तथा उद्योग मन्त्री भट्टलाई हटाउन भनेको कागजी प्रमाण नै पेश गरेपछि दुबैजना ओलीको पक्षमा अडिग भएको बताईएको छ ।

यो बीचमा प्रचण्ड, नेता भीम रावलसँग नजिकिन खोजेपछि सुदूरपश्चिमको बलियो पकड राख्न मन्त्री भट्ट ओलीको पक्षमा उभिएका छन् भने प्रचण्डलाई प्रतिकात्मक जवाफ फर्काएका छन् । आजपछिका राजनीतिक परिघटनाहरु र राजनीतिक समिकरण कस्ता बन्दै जान्छन् त्याे हेर्न भने पर्खनै पर्नेछ ।