ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनकै पार्टीका ९० जना बहुमत सांसदले प्रचण्डको नेतृत्वमा आईतबार अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ ।

अविश्वास प्रस्तावमा संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ । अविश्वासको प्रस्तावमा प्रधानमन्त्री ओली प्रधानमन्त्री भईरहँदा संविधानमाथि प्रहार भईरहने तथा त्यसबाट देशले क्षति व्यहोर्ने उल्लेख गरिएको छ ।

धारा १०० को उपधारा ५ मा यस्तो लेखिएको छ :

केहि समय अगाडीदेखि नेकपाका अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टीमा चलिरहेको आन्तरिक द्वन्द, वाक युद्ध, सितयुद्ध, खुल्ला पत्र युद्ध हुँदै अविश्वासको प्रस्ताव दर्तासम्म आईपुगेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभन्दा साढे तीनघन्टा अगाडी प्रचण्डको नेतृत्वमा नेकपाकै ९० जना सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावको पहिलो पंक्तिमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजिनामा दिएका मन्त्रीहरु तथा सांसद गरी ९० जना रहेका छन् । दोश्रो क्रममा झलनाथ खानल र तेश्रो क्रममा माधव कुमार नेपाल रहेका छन् ।

संवैधानिक व्यवस्था अनुसार संसदमा अविश्वासको प्रस्ताव लैजाँदा विकल्पमा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख हुनुपर्छ । सोहि व्यवस्था अनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९० जना सांसद मध्ये प्रचण्डको नाम सबैभन्दा अगाडी १ नं मा रहेको छ ।

ठूला ठूला राजनीतिक परिवर्तन, संविधान सभाबाट संविधानको निर्माण र संघिय प्रणालीको अभ्यासमा रहिरहँदा पार्टी तथा सरकार जनताप्रति जवाफदेही नभई पुरातन शैलीमा खुट्टा तानातान, सांसदको किनबेच, संख्याको जोड घटाउको भूमरीमा अल्झिने हो भने जनताले अब के आशा गर्ने ? सोचनिय विषय बनेको छ । दुइ तिहाइ बहुमतकाे सरकार यसरी अल्पायुमै असजिलाे माेडतिर माेडिएकाेमा आश्चर्यचकित बनाएकाे छ ।