जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप

-



     मनाेज अधिकारी    
     पौष ७ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, ७ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनलाई क्रिस्टिना केयर अस्पतालकी नर्स ताबे मेसेले फाइजर खोपको पहिलो डोज लगाइदिएकी हुन् ।

बाइडेनले सोमबार दिउसो आफ्नो होम स्टेट डेलावरमा खोप लगाउँदा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । उनले यो खोपअन्तर्गतको दोस्रो डोज अबको २१ दिनमा लगाउने छन् ।

“म यो खोप लगाएको देखाएर सबैलाई यसबारे चिन्ता नलिन र खोपका लागि तयार हुन आग्रह गर्छु” बाइडेनले खोप लगाएपछि भने । उनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोप लगाएको जानकारी दिए ।

बाइडेनले भर्खरै खोपको सुरुवात भएको र स्थिति सामान्य हुन केही समय लाग्ने हुनाले खोपपछि पनि मास्क लगाउन, सामाजिक दुरी कामय गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरे ।

नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाविरुद्धको खोप लगाउने पहिल्यै बताएका थिए । यद्यपी कमला ह्यारिसले खोप लगाएको खबर आएको छैन ।

यसअघि गत शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्स, उनकी पत्नी करेन, सिनेटकी सभामुख न्यान्सी पेलोसी र सर्जन जनरल जेरोम आडम्सले खोप लगाएका थिए ।

अमेरिकामा पहिलो खोपका रुपमा अघिल्लो शुक्रबार फाइजरको खोपले आपतकालिन प्रयोगको अनुमति पाएको हो । यस्तै गत शुक्रबार मोडेर्नाको खोपले पनि उस्तै रुपमा अनुमति पाएको छ ।