शेयर बजारमा उल्लास: परिसूचक ९५.४६ अंकले बढ्दा ६ अर्ब ७४ करोडको कारोबार

-



     सफल आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ पुस । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा उल्लास छाएको छ । नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा उक्लिएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेको छ ।

संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाको सेयर बजारमा नकारात्मक असर पर्ने कतिपयको अनुमान थियो । तर बजारले सकारात्मक दिशा तय गरेको छ ।

कारोबार रकम पनि पौने ७ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५५ हजार ७ सय १ करोबारबाट २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बढेर हरियाली देखिएका छन् ।

कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०.९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक रु ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक रु २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ५८ लाख २६ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए ।