खरिद गर्न तयारी गरेकाे १० हजार मेट्रिक टन चिनी नल्याइने

-



     सफल आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ७ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिदकाे लागि तयारी गरेकाे १० हजार मेट्रिक टन चिनी नल्याउने निर्णय गरेकाे छ । यसअघि चाडपर्वलाई लक्षित गरेर १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो ।

चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय शुरू भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार कम्पनीले आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द भएकाे छ ।

सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा दश हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । पहिलो आवेदनमा कुनै निवेदन नपरेको जनाउँदै पुनः बोलपत्र आह्वान तयारी गरेकोमा चिनी ल्याउन नसकिने भन्दै प्रक्रिया रद्द गरिएको हो ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । साल्ट कर्पोरेशनले दशैँ अगाडि नै ल्याएको २० हजार मेट्रिक टन चिनी बिक्री भइसकेको भन्दै नयाँ खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुमति मागेको छ ।

खाद्य कम्पनीले हाल साल्ट कर्पोरेशनबाट चिनी लगेर बिक्री गरिरहेको छ । चाडपर्वलाई ध्यानमा राख्दै गत असोज १५ गतेदेखि आगामी माघ २ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यका पसलमा कर्पाेरेशनको चिनी बिक्री भइरहेको खाद्य कम्पनीले जानकारी दिएकाे छ ।