दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्वन्धी सम्मेलन सम्पन्न

-



     सफल आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ पुस । दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्वन्धी सम्मेलन सम्पन्न भएको छ । बाल अधिकार सम्बन्धी महासन्धी १९८९ को ३१ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलन मंगलबार सम्पन्न भएको हो ।

महासन्धीको ३१ वर्ष पुरा भएको अवसरमा साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एन.ए.सी.जी.) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशिया स्तरीय बाल सहभागीता सम्बन्धी सम्मेलन आयोजना गरिएको थियो ।

बाल अधिकार सम्वन्धि ५४ वटा धारा भएको उक्त महासन्धी नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । मंगलबार भर्चुअल कार्यक्रम आयोजना गरीएको सम्मेलनमा साइभाकका महानिर्देशक तथा सिआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने र बाल अधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदान प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।

दक्षिण एशिया अन्तर्गत ५ वटा देशले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशका बालबालिकाहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नु पर्ने बताइन् ।

अफगानिस्तान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एन.ए.सी.जी. का प्रतिनिधि, अधिकार अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बाल सहभागिता बाल बालिकाहरुको महत्वपूर्ण अधिकार भएकोले बाल सहभागीता प्रत्याभुतिको लागी आगामी अभियान आवश्यक भएको र बाल सहभागीता अरु अधिकार भन्दा उपेक्षा गरिएको मुद्दा भएकाले यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा विकास सझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रिका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए । साइभाकका महानिर्देशक तथा सिआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले प्रस्तुती तथा संचालन गरेका थिए भने एनएसीजी नेपालका अध्यक्ष कृष्णचन्द्र आचार्यले स्वागत गर्दै नेपाल सहित सार्क राष्ट्रिमा भएका बाल अधिकार सुनिश्चितताका लागी भएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।