धितोपत्र बोर्डले घटाउने भयाे ब्रोकर कमिसन

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ ।

बोर्डकाे कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष भीष्मराज ढुङ्गानाले यी महत्वपूर्ण दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । उनले भने, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ, यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ ।

अध्यक्ष ढुङ्गानाले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले रु ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र रु ५० हजारदेखि रु पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत, रु २० लाखदेखि रु एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र अनुमति पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताए ।