नेपालको राजनीतिक स्थिरताबारे चिनियाँ टाेलीकाे चासाे

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १३ पुस । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन्।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका ढकालले भने: नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने वहाँहरूको छलफलमा देखिएको थियो।

सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पार्न खोजेको ढकालले बताए।

राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।

राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट हिँडिरहेको र आफ्नो संविधान अनुरूप लोकतान्त्रिक बाटोबाटै त्यसको निरूपण हुने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँग उपमन्त्री इन्झोले सीपिसीको नेपालबारे र नेपाल कम्युनिस्ट पार्टीसँगको सम्बन्धबारे आफ्नो धारणा राखेको ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।

भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्: “वहाँ [ओली]ले एक चीन नीतिप्रति नेपालको अडान र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनेबारे पुनः आश्वस्त पारे ।”

सोमवार बिहान उपमन्त्री इन्झोले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेटेका छन्। प्रचण्ड निवास खुमलटारमा झन्डै एक घण्टा भएको बैठकमा ‘पार्टीमा फुट नआइदिए हुन्थ्यो भन्ने आफ्नो पुरानै कुरा दोहोर्‍याएको’ प्रचण्डनिकट एक नेताले बताए। टोलीले माधवकुमार नेपालसँग पनि भेटघाट गरेको बताइएकाे छ ।

नेकपाभित्र सङ्कट चुलिएका बेला काठमाण्डूमा रहेकी चिनियाँ राजदूतको नेताहरू र राष्ट्रपतिसँग बारम्बार गरिएका विगतका भेटलाई एकथरीले नेकपाको एकता जोगाउने चिनियाँ प्रयासका रूपमा हेर्ने गरेको पाइन्छ।

संसद् भङ्ग भइसकेपछि समेत चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय दाहाल र नेपाललाई भेटेकी थिइन ।