डिजिटल कारोबार केन्द्रीय बैंकको प्राथमिकतामा छः गभर्नर अधिकारी

-



     सफल आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार केन्द्रीय बैंकको प्राथमिकतामा रहेको बताएका छन् । उनले तरकारी किन्न नगद बोक्नै पर्ने बाध्यता हटाइने समेत बताए ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्वोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाइ प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष गरेका हुन् ।

अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको उनले बताए । एक वर्षभित्रै तरकारी बजारहरुमा पनि डिजिटल कारोबार हुने गभर्नर अधिकारीको भनाई छ ।

विद्युतीय भुक्तानी सेवाको विस्तारमा बैंकहरुको पनि सहयोग रहेको उनले बताए । राष्ट्र बैंक र मेरो उद्देश्य भनेको एक वर्षपछि तरकारी किन्न क्यास बोकेर जान नपरोस भन्ने हो’ गभर्नर अधिकारीले भने । गत शुक्रबार नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको थियो ।

त्यसतर्फ संकेत गर्दै उनले अब गाउँ गाउँ पुगेका बैंकका शाखाहरुलाई पनि यस्तो कार्यमा आवद्ध गराउने बताए । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुले गाँउ गाँउमा आधुनिक बैंकिङ्ग सुविधा प्रदान गरिरहेको बताए । उनले राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न संघ तयार रहेको समेत बताए।