आइएमई लिटरेचर फेस्टिभल, सराङकोट बन्यो साहित्यमय

-


     सफल आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ पुस । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण मंगलबार पोखराको सराङकोटमा औपचारिक रूपमा उद्घाटन भयो । औपचारिक उद्घाटन सत्रमा अर्थशास्त्री विश्व पौडेलले ‘साहित्यको अर्थ’ विषयमा विद्वत्प्रवचन दिए ।

विद्वत्प्रवचनमा उनले नेपालमा साहित्यलेखनको सुरुवात र त्यसले अर्थतन्त्रमा पारेका प्रभावका विषयमा बोले । त्यसपछिको सत्रमा मदन पुरस्कार विजेता उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँसँग पत्रकार राजकुमार बानियाँले ‘महारानीको राजनीति’ शीर्षकमा छलफल चलाए । मदन पुरस्कार पाउनुअघि लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनामसरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट एकै पटक नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए ।

लेखक स्वयंलाई चकित पार्ने यो पुरस्कार उनी हाल बस्दै आएको सहर पोखराका लागि पनि ‘सरप्राइज’ भयो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाशकै शब्दमा उनले मदन पुरस्कार जितेको खबर ‘पोखराका लागि हर्ष न विस्मात्’ सरह भयो । लेखक चन्द्रप्रकाशले मदन पुरस्कारपछि पोखराको प्रतिक्रियाबारे बताए । पत्रकार राजकुमार बानियाँसँगको अन्तर्संवादमा उनले भने, ‘मदन पुरस्कार पुरस्कार पाएपछि विभिन्न संस्थाले छलफल आयोजना गर्नुभयो । त्यसबाहेक पोखराले अझै पनि मलाई चिन्दैन, गुमनाम नै छु ।’ उनले ‘महारानी’ को चर्चा आफ्ना लागि अनपेक्षित भएको समेत बताए ।

‘पुरस्कृत होला भन्ने कल्पनै थिएन,’ उनले भने । म्याग्दी, पुलाको भीरमुनि जन्मेका चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्तीलगायत सामग्रीमा उनको पहुँच थियो । ‘कर्मठ केटीहरु’ सत्रमा सोचाइकी प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा, खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक आयुषी केसी र अलोइ टेक्नोलोजिजी सहसंस्थापक सोनिका मानन्धरसँग आभाष्ना पाण्डेले संवाद चलाइन् । तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्र्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन् ।

यसमा खाली सीसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु । निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण साखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं ।’   बोनिता र सोनिकाले चाहिँ युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए । ‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बीबीसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे । अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन् ।’ बीबीसीको सूचीमा परेपछि आफूलाई वाग्मती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन् ।  

‘के सम्पदा, के बसोबास’ सत्रमा सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरी र वास्तु एवम् ग्रामीण विकासविज्ञ मिलन बगालेसँग वृत्तचित्र निर्माता आलोकसिद्धि तुलाधरले बहस गरे । यो सत्रमा संस्कृति मासिँदा हाम्रो जीवनशैली कसरी अगाडि गइरहेको छ, मौलिक सम्पत्तिलाई बेवास्ता गर्दा दीर्घकालीन विकासमा कसरी नकारात्मक असर परिरहेको छ भन्नेबारेमा छलफल भयो ।

विकासका नाममा हाम्रो परम्परागत जीवनशैली जसरी परिवर्तन गरिएको छ, त्यसले एक किसिमले बाहिरबाट हेर्दा विकास देखिए पनि अन्तस्करणबाट विनाशको बाटो लिइरहेकोबारे चर्चा भयो । भूकम्प एवम् प्राकृतिक विपत्तिले जहिले पनि मानिसलाई सही जीवनपद्धति अपनाउन र सोहीअनुसारको भौतिक संरचना निर्माण गर्न प्रेरित गर्ने उनीहरुको भनाइ थियो । तर नेपालको सन्दर्भमा त्यो त्यति नअपनाइएको उनीहरूले बताए । यो सत्रमा डोजर विकासले पौराणिक बस्तीलाई ध्वस्त पार्न लागको अवस्थाबारे पनि चर्चा भयो ।  

‘कोरोनापछिको सिनेमा’ सत्रमा फिल्मकर्मी भास्कर ढुंगाना, मीन भाम र प्रियंका कार्कीसँग पत्रकार यज्ञशले छलफल गरे । यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले फिल्म क्षेत्रमा पारेको प्रभावका विषयमा चर्चा भयो । नेपाली फिल्मक्षेत्रलाई केकस्ता चुनौती थपिए, त्यसबाट निकास पाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा उनीहरुले चर्चा गरे । यो सत्रका वक्ताहरुले प्रविधिका कारण सिनेमा क्षेत्रमा परिरहेको प्रभाव र नेपाली सिनेमाको विश्वव्यापीकरणका लागि गर्नुपर्ने अनि चाल्नुपर्ने कदम एवम् कामका विषयमा पछि छलफल गरे ।  

फेस्टिभलको अर्काे सत्र थियो, ‘पढ्ने–पढाउने हुटहुटी ।’ यो सत्रमा कारागारमा पुस्तकालय निर्माण अभियन्ता हरि खनाल, लेखक बिकेश कविन र विद्यार्थी मनुश्री महतसँग पत्रकार स्वेच्छा राउतको कुराकानी भयो । यो सत्रमा विशेषगरी पठनपाठनको महत्व र यसको प्रभावबारे अन्तर्संवाद भयो । किन पढ्ने, पठन संस्कृतिको विकासले समाज विकासमा केकस्तो प्रभाव पार्छ भन्नेलगायत विषयमा पनि उनीहरुले चर्चा गरे ।  

‘कोरोनाले गलाएको जनस्वास्थ्य’ सत्रमा सहभागी रहे, संक्रामक रोग विशेषज्ञ चिकित्सक डा. अनुप सुवेदी, डा. अनुप बास्तोला, डा. रोलिना धिताल र पत्रकार सोबिता गौतम । यो सत्रमा विशेषगरी कोभिडले मानव जीवनमा पारेको सकारात्मक एवम् नकारात्मक प्रभावबारे छलफल भयो । नेपालमा कोभिडले जनस्वास्थ्यलाई गलाएको होइन, हामीलाई पाठ सिकाएको हो । विश्वका अरु मुलुकले जनस्वास्थ्यको क्षेत्रमा राम्रो गरिरहेको र नेपालले भने प्रभावकारी काम गर्न नसकेको उनीहरुको भनाइ थियो । जनताको स्वास्थ्यका लागि विभिन्न नीतिनियम बने पनि प्रभावकारी हुन नसकेको विषयमा पनि चर्चा भयो । त्यसैले कोभिडबाट पाठ सिकेर भविष्यमा आउन सक्ने अन्य महामारीका लागि पूर्ण तयारीका साथ जुझ्न तयार हुनुपर्नेमा उनीहरु सबैले जोड दिए । मंगलकारको अन्तिम सेसन ‘अद्भुत व्यक्तित्व, आधारण लेखन’ रह्यो ।

यसमा मनुजबाबु मिश्रबारे उनका सुपुत्र रोशन मिश्र र मदनमणि दीक्षितबारे साहित्यकार एवं दीक्षितकी सुपुत्री इल्या भट्टराईले बोले । उक्त अवसरमा रोशनले कलाकार मनुजबाबुको कलाकारिता, उनको जीवनशैली एवम् लेखन आदि विविध पाटोमा आधारित रहेर आफ्ना विचार राखे । मनुजबाबुको लामो समयको गुप्तवासका रोचक प्रसंग पनि उनले खोतले । साथै भट्टराईले पनि दीक्षितको जीवनशैली, उनको योगदान र जीवनका फरकफरक पाटोका विषयमा चर्चा गरिन् । दुवै व्यक्तित्व असाधारण एवम् अद्भुत रहेको उनीहरुको निष्कर्ष थियो । फेस्टिभलको औपचारिक उद्घाटनअघि सोमबार साँझ गजल मेहफिल कार्यक्रम राखिएको थियो ।

फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ । साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् ।  

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा थपिएको आयोजकले जनाएको छ ।