पोखरा, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन् । उनले निजी क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा एउटै भ्वाइस आउने पनि स्पष्ट पारे ।
पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणअन्तर्गतका बुधबार सराङकोटमा कुवेर चालिसेसँग ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका अध्यक्ष समेत रहेका ढकालले भने, ‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको छ । निजी क्षेत्र प्रवद्र्धन गर्ने विषयमा पनि सबै जना एक ठाउँमा उभिनुपर्छ । कसैको स्वार्थको कारण हामी विचलित हुँदैनौं ।’

उनले अगाडि भने, ‘बोराको एउटा आलु कुहियो भने बोरा फाल्ने होइन, कुहिएको आलु नै फाल्नुपर्छ ।’ उनले विभिन्न संघसंगठन भए पनि निजी क्षेत्रको विकासमा एउटै भ्वाइस लिएर अगाडि बढ्ने स्पष्ट पारे ।
नेपालको कर्मचारीतन्त्रले पनि निजी क्षेत्रको विकासबिना देशको विकास असम्भव हुने महसुस गरिसकेको आफूले पाएको ढकालले बताए ।
अर्को प्रसंगमा उनले कोरोना प्रभावले डिजिटल प्रविधि विकासमा सघाउ पुगेको पनि बताए । नीतिनिर्माताहरुले पनि यसबारे आवश्यक कानुन ल्याउनुपर्नेमा जोड दिँदै डिजिटल प्रविधिलाई बढावा दिनुपर्ने उनको भनाइ थियो ।
‘निजी क्षेत्र निकै सक्षम छ । डिजिटल पेमेन्टलगायत धेरै विषय डिजिटलबाट गर्न सकिन्छ । त्यसका लागि सरकारबाट अलिकति ‘पुस’ भए अगाडि बढ्न सहज हुनेछ,’ आइएमइका संचालक समेत रहेका ढकालले भने ।
कोरोना महामारीको बेलामा निजी क्षेत्रले स्वास्थ्य सामग्री खरिद, विपन्न तथा असहायलाई खानामा सहयोग लगायत विषयमा सहयोग गरेको उनको दाबी थियो । ‘घरभित्रै ६ महिनासम्म खुम्चिनुपर्दा स्पष्ट रुपमा नदेखिएको भन्ने हो तर निजी क्षेत्रले धेरै विषयमा राहत र सहयोगका कार्यक्रम गरको छ,’ उनले भने ।
कोरोना प्रभावका कारण अझै ५० प्रतिशत उद्योग पनि संचालनमा आउन नसकेको अवस्थामा उद्योगी ढकालले निजी क्षेत्रको राहतमा सरकारले बजेट तथा मौद्रिक नीतिमा सम्बोधन गरे पनि कार्यविधि ढिलाइले समस्यामा परेको बताए ।
‘कोभिड–१९ को महामारीमा पनि सरकारले निजी क्षेत्रलाई तत्काल सहयोग गर्नुपर्ने थियो र त्यसो हुन सकेन । यदि सहयोग गरको भए रोजगारी गुमाउनबाट बचाउन सकिन्थ्यो, राजश्व संकलनमा वृद्धि हुन्थ्यो,’ उनले भने ।
‘निजी क्षेत्रलाई सहयोग गर्नु भनेको सरकारको आम्दानी सुरक्षित गर्नु हो । तर सरकारले जहिले पनि यिनीहरु माग्नेमात्र हुन् भनी टिप्पणी गर्दछ,’ उनले स्पष्ट पार्दै भने, ‘निजी क्षेत्रले माग्ने भनेको पकेटमा राख्नको लागि हैन । उद्योग प्रतिष्ठानलाई सहयोग गर्नु भनेको त्यस उद्योग प्रतिष्ठानमा रोजगाररत् मजदुर तथा कर्मचारीका परिवारलाई सहयोग गर्नु हो ।’






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



