सकियो साहित्यिक महोत्सव

-


     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ पुस । पर्यटकीय नगरी पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभल १५ सेसनमा विविध विषयमा छलफल गर्दै बुधबार सम्पन्न भएको छ । सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तरसंवाद गरे ।

‘प्रदेशबाट देखिने देश’ सेसनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे संवाद गरे । पत्रकार वसन्त बस्नेतले मुख्यमन्त्री गुरुङसँग विविध विषयमा छलफल गरेका हुन् । त्यस्तै, अर्को सेसनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको विकास भएमात्र मुलुकको समृद्धि हुने बताए ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले ‘कोरोनाकालीन उद्योग वाणिज्य’ मा पत्रकार कुवेर चालिसेसँग संवाद गरेका हुन् । कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा गरे । ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकको अर्को सत्रमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा. अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघ अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरु’ चलाएको सत्रमा संघीयता आए पनि त्यो प्रदेशहरुमा प्रभावकारी कार्यान्वयन नभएको बताए । ‘क्वेर हुनुको अर्थ’ सेनमा अनुवादक तथा लेखक नीरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनिलबाबु पन्त) बीच संवाद गरे । उनीहरुले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःख एवम् संघर्षबारे छलफल गरे ।

‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछाने थिए । जसमा युवाले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे । साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो ।

अन्तिम सत्र ‘तीन आख्यान’ मा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारु उपस्थित भए । उनीहरुले नेपाली साहित्यमा आख्यानको अवस्था लगायतबारे बोल्दै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि चर्चा गरेको फेस्टिभलका निर्देशक अजित बरालले बताए ।

गत १३ पुस साँझदेखि सुरु फेस्टिभलमा पछिल्लो दुई दिन सात–सात सेसनमा भर्चुअल रूपमै विविध शीर्षकमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताबीच संवाद भएको आयोजक आयोजक बुकवर्म फाउन्डेसनका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । ग्रुप आइएमईको प्रायोजनमा भएको फेस्टिभलमा ¥यान्डम रिडर्स सोसाइटी सहआयोजक थियो ।