हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लिन अर्थव्यवस्था नै हो : मुल्मी

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ पुस । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लीन अर्थव्यवस्था नै भएको बताएका छन् । उनले भने, हामी पारदर्शी अर्थसंरचनामा जानका लागि तयार हुनुपर्छ, जार्नुपर्छ र परिवर्तनलाई कसरी वाताबरणमैत्री बनाउने भन्ने बारेमा सरोकारवाला सबैले दायित्व बहन गर्नुपर्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल तथा सुनास कास्कीको आयोजनामा वुधबार पोखरामा जलवायु परिवर्तन तथा बैंकिङ क्षेत्रको उत्तरदायित्वका बारेमा पाेखराका बैंकर्सहरुलाइ सहभागि गराइएकाे कार्यक्रममा बोल्दै मुल्मीले भने, हामी जलवायु पवरिवर्तनको प्रभाव न्यूनिकरणको मार्गमा जान चाहेका छौं, समयअनुसार भईरहेको परिवर्तनलाई कसरी आत्मसाथ गर्ने भन्ने बारेमा लगानीकर्ता, बैंकर्स र सरोकारवालााहरु गम्भिर बन्न आवश्यक भएको छ ।

हामीकहाँ जहिले पनि सुशासनको अभाव खड्किरहन्छ । त्यसको परिपूरणका लागि नेपालको बैंकिङ क्षेत्र जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए । उनले जिम्मेवार भएकै कारण मानिसले बैंकलाई विश्वास गरीरहेको बताउँदै भने, अब नेपालको बैंकिङ क्षेत्रको उपस्थिति अन्तराष्ट्रमा पुर्याउनुपर्छ । हामी ग्रे लिष्टमा छौैं, ग्रीनमा पुग्न सकेका छैनौं, अपारदर्शि बैंकिङ्गमा नीजि क्षेत्र पनि छन् भन्ने कुराहरु आइरहेकोले सुधारको आवश्यक्ता औंल्याए । अहिले नेपालको बैंकिङ क्षेत्रमा १७०० बढी केश रहेकोमा तीनको अध्ययन हुन नसकेको र नेपाल राष्ट्र बैंकबाट उपयुक्त छाबिन हुन नसकेकाले छबि राम्रो नभएको बताए ।

अहिले धेरै रेमिट्यान्स आयो भनेर भनिरहेका छौं । त्यो कसरी आईरहेको छ ? भन्ने बारेमा बैंकिङ क्षेत्र जानकार हुनुपर्ने र चासो लिनुपर्ने बताए । अपारदर्शि काम भएका छन्, कालो धन बाहिर गएको छ र रेमिट्यान्सको नाममा नेपालमा पुनः ह्वाईट भएर भित्रिएको छ, मुल्मीले भने, यो चिन्ताको विषय हो ।

कार्यक्रमका विशेष अतिथि मुल्मीले नेपालको बैकिङ क्षेत्रको अबको उत्तरदायित्व पारदर्शि बैंकिङको साथमा जलवायुमैत्रीपूर्ण व्यबहारका लागि लगानी हो भने। यसको न्यूनिकरणमा सघाउन आफ्नो सामाजिक उत्तरदायित्वलाई यतातर्फ मोड्न मुल्मीले आग्रह गरे ।

एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले पारदर्शी उद्योगको रुपमा देखिएको नेपालको बैंकिङ क्षेत्रमा सुधारका लागि उपयुक्त नीतिहरु पनि चाहिने बताए । निक्षेपकर्ताहरुबाट पैसा बटुलेर नाफा कमाईरहेकोले बैंककाे दायित्व समाजभन्दा पर नभएको बताए । शर्माले बैंकको समाजिक उत्तरदायित्व अन्तर्गत राहतका काम गर्ने, रुख विरुवा रोप्ने लगायतका कामहरु गरिरहेको बताउँदै भविष्यमा बैंकिङ क्षेत्रको सुधार र पारदर्शिताका लागि सुशासनका लागि नागरिक समाजसंग मिलेर काम गर्न ईच्छुक रहेको बताए ।

सुनासका काेषाध्यक्ष तथा कार्यक्रममा संयाेजक विश्वमाेहन अधिकारी, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजराज वराल, बैंकर माधवप्रसाद अधिकारी, शिक्षासेवी वुद्धिसागर वराल लगायतले बैंकिङ क्षेत्रमा हुनुपर्ने वित्तीय पारदर्शिताका बारेमा आफ्ना बिचार व्यक्त गरेका थिए । सुनास कास्कीका कार्यवाहक अध्यक्ष श्यामनाथ कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले गरेका थिए ।