ओली–प्रचण्ड टेलिफोन वार्ताले ल्याएको तरङ्ग

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ पुस। विभाजित भएको औपचारिक रुपमा घोषणा मात्रै हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । श्रीमतीको उपचारका लागि बुधबार अपरान्ह मेडिसिटी अस्पताल पुगेका प्रचण्डलाई साझ ओलीले फोन गरेका हुन् ।

पार्टी अनौपचारिक विभाजन भई प्रधानमन्त्री समेत रहेका ओली पक्ष सत्तामा र प्रचण्ड पक्ष ओली समूहकै विरोध गर्दै सडकमा आइसकेको छ । यस्तो अवस्थामा दुई नेताबीच भएको टेलिफोन संवादलाई महत्वपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओली निकटका नेता सुवादचन्द्र नेम्वाङ्गका अनुसार टेलिफोनमा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन । उनले सीता दाहालको स्वस्थ्य लाभको कामना गरेका छन् ।

कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गरेपछि ओली बालुवाटार फर्किएका थिए । उनलाई बालुवाटारमै पुगेका पार्टी महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले दाहाल–पत्नीलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका थिए । उनीहरूकै सुझावअनुसार ओलीले दाहाललाई फोन गरेर सन्चोबिसन्चो सोधेका थिए ।

‘टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । त्यसपछि आफ्नो तर्फबाट विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आउादै हुनुहुन्छ है भन्नुभयो’, नेम्वाङले भने । यसपछि पौडेल र नेम्वाङ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेर उनीहरु फर्किएका छन् ।