सनराइज बैंकको बिवाद अझै सुल्झिएन, हट्लान त सीईओ पौड्याल ?

-



     रेबिका आचार्य    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । सनराइज बैंकको आन्तरिक बिवाद फेरि चर्किएको छ । केहि समय अघि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र केहि सञ्चालकहरुबीच भएको बिवाद पुनः बल्झिएको हो । केहि सञ्चालकहरुले सीईओ पौड्यालले आफूखुसी महत्वपूर्ण निर्णयहरु गरेको, सञ्चालकलाई नै नटेरेको भन्दै राजीनामा माग गरेका थिए ।

पौड्याललाई हटाउन सञ्चालक शैलेन्द्र गुरागाईं लगायतको चर्को दवाव थियो । तर सीईओ शर्माको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड नै उभिएका थिए । सीईओलाई नहटाए अध्यक्ष नै हटाउने भन्दै सञ्चालकहरुले निकै दवाव दिए पनि त्यसबेला नेपाल राष्ट्र बैंकले बोलाएर कडा निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले आन्तरिक बिवाद सुल्झाएर काम गर्न निर्देशन दिएपछि केहि महिना पहिले मिलेको बिवाद पुनः बल्झेको छ । तर यसपाली के हुने भन्ने विषयमा सञ्चालकहरुले मुख खोलेका छैनन् । केहि सञ्चालकहरु सीईओलाई राजीनामा गर्न लगाउनुपर्ने बताउँदै आएका छन् भने अध्यक्ष दुगड भने त्यसको विपक्षमा उभिएका छन् ।

बिवाद पुनः सतहमा आएपछि राष्ट्र बैंकले केहि दिन अघि सीईओ र सञ्चालकसँग छलफल पनि गरिसकेको छ । अब बिवाद मिल्ला कि भनेर खासै केहि कडा निर्देशन नदिएको राष्ट्र बैंक श्रोत बताउछ ।

साउनमा देखिएको त्यो बिवाद
सनराइज बैंकमा साउन पहिलो साता यो बिवादले उग्ररुप लिएको थियो । त्यसबेला बैंकका अध्यक्ष मोतिलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कतिपय निर्णयहरु सञ्चालक समितिमा छलफल नै नगरी काम अघि बढाएको भन्दै शुरु भएको असन्तुष्टि सतहमा आएको हो ।

सञ्चालक समिति बैठकमा शैलेन्द्र गुरागाईं लगायतका केहि सञ्चालकहरुले सीईओले अध्यक्ष दुगडलाई मात्रै बैंकको बोर्ड ठानेको भन्दै असन्तुष्टि जनाएका थिए । सीईओ पौड्यालले त्यसको खुलेरै विरोध गरे । त्यसपछि झन बिवाद चर्किएको थियो । बिवाद बढ्दै गए पछि सञ्चालकहरुले सीईओले राजिनामा दिए बिवाद समाधान हुने बताएका थिए ।

त्यसपछि सीईओलाई बोर्डले स्पष्टिकरण समेत सोधेको थियो ।सञ्चालक समितिका अध्यक्ष दुगड पौड्याल पक्षमा थिए भने सञ्चालकहरु गुरागाँईं, शारदा शर्मा, ओमकृष्ण जोशी र दिपक नेपाल पौड्यालको विपक्षमा उभिएका थिए ।

पौड्याल सीईओमा नियुक्ति हुनु अगाडि पनि बैंकमा धेरै बिवाद थियो । एक वर्ष अघि संचालक समितिले निरज श्रेष्ठलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको थियो । तर अहिले बिवाद चर्काउने सञ्चालकहरुले त्यसबेला पनि निकै बिवाद चर्काएका थिए ।

बिवाद उत्कर्षमा पुगेपछि नियुक्ति पाइसकेका श्रेष्ठले नियुक्ति नलिने बताएका थिए । त्यसपछि पौड्याललाई भने सर्वसहमतिमै एक वर्ष अघि सीईओ नियुक्त गरिएको थियो । ४ वर्षे कार्यकालका लागि नियुक्ति पाएका पौड्यालले सहमति मै राजिनामा दिए ३६ महिनाको अतिरिक्त तलब तथा सेवा सुविधा दिएर बिदा गरिने बैंकका एक सञ्चालकले बताएका थिए । तर पौड्यालले राजीनामा दिएनन् । अहिले पुनः बिवाद देखिए पनि सीईओ पाैड्याल राजीनामा नदिने मनसायमा रहेका छन् ।