को बन्ला बीमा समितिको नयाँ अध्यक्ष ?

-



     रेबिका आचार्य    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ पुस । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको नयाँ अध्यक्ष यहि साता नियुक्ति गर्ने गरी सरकारले काम अघि बढाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यक्षका लागि तीन जनाको नाम प्रस्ताव लैजाने अर्थमन्त्री विषुप्रसाद पौडेलले तयारी गरेका छन् ।
अर्थमन्त्रीको प्रस्ताव गरेका तीन मध्ये एक जनालाई मन्त्रिपरिषदले नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

चार वर्ष अघि तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा अध्यक्ष बनेका चिरञ्जीवि चापागाईंको आगामी २७ गते कार्यकाल पुरा हुँदैछ । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । पुस २४ गते नियुक्तपत्र पाएका चापागाईले २७ गतेबाट जिम्मेवारी समालेका थिए ।

बीमा समितिको अध्यक्षको कुर्सी खाली नराख्न २७ पुस अगावै नयाँ अध्यक्ष नियुक्त गर्नुपर्ने हुन्छ । बीमा समितिको नयाँ अध्यक्ष नियुक्त गर्नका लागि अर्थमन्त्रीले आकांक्षीको सूची समेत तयार पारेका छन् ।

आगामी अध्यक्ष बन्न चपागाईं समेत आकांक्षी थिए । तर राजनीतक माहोलका कारण चापागाईंले अबको अध्यक्ष नबन्ने बताइसकेका छन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकटका व्यक्ति हुन् । अहिले ओली सत्तामा र प्रचण्ड सडक आन्दोलनमा छन् । यसकारण पनि चापागाईंले अध्यक्षमा दोहोरिन नचाहेका हुन् ।

समितिको अध्यक्ष बन्न डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्ब अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई रामशरण खरेल पनि आकांक्षी हुन् । सिवाकोटी गभर्नरको दौडबाट बाहिरिएकाले सरकारले समितिको अध्यक्ष बनाउछ भन्ने अपेक्षामा छन् भने खरेल खतिवडाको ज्वाई भएकै कारण अध्यक्ष बन्न बल गरिरहेका छन् ।

यसबोहक कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, नेपाल इन्स्योरेन्सका सीइओ बिजयबहादुर शाह, नेप्सेका अध्यक्ष टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं र पूर्वसीइओ रमेश लम्साल लगायतका आकांक्षी रहेकाे स्राेतले बताएकाे छ ।