बैंकमा पुनः थुप्रियो पैसा

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० पुस । बैंक तथा वित्तीय संस्थाहरुमा पुनः लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । कोभिडका कारण पर्याप्त कर्जाको माग अझै हुन नसकेपछि बैंकहरुमा पैसा थुप्रिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अहिले बजारमा १ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा अझै तरलता बढ्ने सम्भावना रहेको उनी बताउछन् ।

बैंकिङ प्रणालीमा लामो समयदेखि विद्यमान अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनअन्तर्गत जारी गरेका उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट खर्बौंको बोल परेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष चालु आर्थिक वर्षमा तरलता प्रशोचन गर्न जारी गरेको छोटो अवधिको उपकरण रिभर्स रिपोमा ४ पटकमा १ खर्ब १० अर्बको माग गर्दा रू २ खर्ब ७८ अर्ब २५ करोडको बोल परेको छ । चालू आवको पुस १६ गतेसम्म विभिन्न समयमा ५ पटकसम्म २८ दिने अवधिको निक्षेप संकलन उपकरणमा रू। १ खर्ब ६० अर्बको मागमा ३ खर्ब ३३ अर्ब २० करोड रुपैयाँको बोल परेको छ ।

पछिल्लो समय बैंकहरू थोरै ब्याजमा भए पनि छोटो समयका लागि केन्द्रीय बैंकमा रकम पठाउन आतुर देखिन्छन् । बजारमा अपेक्षाअनुसार कर्जाको माग नहुँदा अधिक तरलताको स्थितिमा संकलित निक्षेप बैंकमा आइडल राख्नुभन्दा थोरै ब्याजदरमा लगानी गर्नु उपयुक्त देखिएकाले बैंकहरूले बोल लगाएका छन् ।

यस अवधिमा जारी एकहप्ते रिभर्स रिपोमा बैंकहरूले अधिकतम १ दशमलव ५४११ प्रतिशत, न्यूनतम शून्य दशमलव ०१०० प्रतिशत र भारित औसत शून्य दशमलव २०६० प्रतिशत ब्याजदरमा बोल लगाएका थिए । निक्षेप संकलन उपकरणको बोलमा बैंकहरूले भारित औसत ब्याजदर शून्य दशमलव ४९६७ प्रतिशत ब्याजदरको प्रस्ताव राखेका थिए ।