कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडाैं, २० पुस । अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम ट्रेडिङ लगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ । उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आव २०७५/७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

भ्याटतर्फ रु २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ रु ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश रु पाँच करोड २० लाख ४५ हजार ६९२ बराबरको चुहावट गरेको पाइएको छ । विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।