इन्फ्रास्ट्रक्चर बैंकले माघ २ मा ८ अर्बको आइपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ पुस । अहिले सम्मकै ठूलो आइपीओ कहिले आउला भनेर रकम जम्मा गरेका शेयर लगानीकर्ताहरु अब भने सोहि ठूलो आइपीओ निष्काशनको मितिलाई पर्खेर बसेका छन् ।

पूर्वाधार विकासको लागि देशकै पहिलो बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आउने माघ २ गते ८ अर्ब रुपैयाँ बराबरको ८ कराेड कित्ता सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ । बैंकले माघको दोश्रो हप्ताबाट शेयरको बाँडफाँड गर्ने तयारी पनि गरेको छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब छ भने जारी पूँजी २० अर्ब तथा चुक्ता पूँजी १२ अर्ब रहेको छ । शेयर निष्काशन भएपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

सर्वसाधारणका लागि ४० प्रतिशत शेयर वितरण गरिने भएको छ । ०.२ प्रतिशत शेयर कर्मचारीको लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुका लागि रहेको छ । कुल शेयरमा नेपाल सरकारको १० प्रतिशत शेयर रहेको छ भने बाँकी निजी क्षेत्रको लगानी रहेको छ ।

यस आर्थिक वर्षको पहिलो त्रैमाासमा बैंकको नाफा १८ करोड रुपैयाँ रहेको छ । बैंकले नेपालको जलविद्युत, सिमेन्ट, सौर्य उर्जालगायत ५ ठूला आयोजनाहरुमा ६ अर्बको कर्जालाई स्वीकृत गरिसकेको अवश्था रहेकाे छ ।

बैंकका सञ्चालकहरुमा अध्यक्ष अनुज अग्रवाल, सञ्चालकमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल, लालमणि जोशी रहेका छन् । आइपीओ जारी भएपछि सर्वसाधारणको तर्फबाट तीनजना सञ्चालक समितिमा आउने भएका छन् ।