अवकासकाे बेला खड्काद्वारा गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



चितवन, २१ पुस । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका छन् ।

अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरे । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरे । त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे ।

यससँगै आज उनले सेवाबाटअनिवार्य अवकास पाएका छन् । गोेहीको पालनपोेषण, नियन्त्रण, नदीमा छोेड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिएका हुन् । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएकोे हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ । सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो ।

यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो । कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ । हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ । तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए । प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिँदै आएकोे छ । खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही रहेका राससले लेखेकाे छ ।

यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।