भन्सार छलेर ल्याइएको गाडी र कपडा बरामद

-


     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित


कैलाली,२१ पुस । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याउँदै गरेकाे पिकअप भ्यान गाडी र कपडा बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।

भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नुका साथै दुई व्यक्तिलाई पक्राउ समेत गरेको राससले लेखेकाे छ ।

भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए। ‘‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिनेछ’’ शाहले भने ।