गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु (भिडियाे)

- संघीयता खारेज समस्या समाधान हैन: मुख्यमन्त्री

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



पोखरा, २१ पुस । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारीलगायत विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन गत मंसिर ३० मा प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, जसपाका हरिशरण आचार्यले कोभिड–१९ नियन्त्रण र उपचारमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले सरकारको स्रोतसाधन अनुसार नै कोभिड १९ नियन्त्रणमा प्रदेश सरकार सफल भएको दाबी गरे । उनले कुन भ्याक्सिन आउँछ, त्यस आधारमा ल्याब बनाउनुपर्ने हुँदा हाललाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र ल्याब बनाउन नेपाल सरकारसमक्ष प्रस्ताव गरिसकेको जानकारी दिए । उनले भ्याक्सिन राख्न चाहिने बजेट पनि दिने आश्वासन संघीय सरकारबाट आइसकेको बताए ।

उनले गण्डकी प्रदेश बेरुजू रकम धेरै हुनेमा दोस्रो प्रदेश रहेकोमा आगामी दिनमा बेरुजू फछ्र्यौट बढी गर्ने प्रदेशको रुपमा अघि बढ्ने बताए ।

‘संघीयता जादुको छडी थिएन र होइन । अरु व्यवस्थाको तुलनामा यो व्यवस्था बढी संयोजनकारी, बढी विकल्प दिन्छ कि भनी संघीयता छनौट गरिएको हो । भर्खरै जन्मिएको संघीयताले अहिले नै बोलेन, दौडेन कि भनेर भन्नु हतारो हुन्छ कि ?’ उनले भने, ‘अरु मुलुकको कार्यान्वयनको गति हेर्दा हाम्रो गति कम हैन । हामीलाई छिटो र चाँडो चाहिएको छ, त्यसैले असन्तुष्टि पाइएको हो ।’

संघीयतामा मुलुक नगएको भए कोरोनाको बेलामा पनि निकै कठिन हुने दृष्टान्त दिँदै उनले केन्द्रीकृत शासन व्यवस्थामा अहिलेको समस्या निराकरण गर्न काठमाडौंले मात्र सक्ने थिएन भने।

‘विभिन्न वर्ग, समूहको लागि उपयुक्त आधार दिन सक्छ कि भनेर संघीयता लागू भएको हो,’ उनले भने, ‘संघीयता खारेज गर्नुपर्ने विरोधका स्वर पनि सुनिन्छन् तर संघीयता खारेज अहिलेको अवस्थामा समस्या समाधान हैन ।’

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले महँगी, बेरोजगारी बढ्दै गएको भन्दै जनताको समस्या समाधानका लागि प्रदेश सरकार जिम्मेवार नबनेको बताए । उनले बजेटमा ल्याएका योजना कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।

देशका ७ प्रदेशमा गण्डकीमा पहिलो पटक विशेष अधिवेशन आह्वान गरिएको हो । संसदको अर्को बैठक पुस २६ गते दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले बताए ।