
बोस्टन, अमेरिका, २२ पुस । अमेरिकी राजनीतिको भविष्य समेत निर्धारण गर्ने ठानिएको जर्जियाको निर्वाचनमा मंगलबार लाखौं मतदाता सहभागी भएका छन् ।
साँझ ७ बजे मतदान सकिएलगत्तै मतणना सुरु भइसकेको छ । अहिले मतगणनाको पछिल्लो विवरणहरु अपडेट भइरहेका छन् । दुवै सिटमा सुरुवाती अग्रता डेमोक्र्याट्स उम्मेदवारले गरेका छन् ।
गत नोभेम्बर ३ को निर्वाचनमा संसदको माथिल्लो सदन सिनेटका लागि कुनै पनि उम्मेदवारले बहुमत (कम्तिमा ५० प्रतिशत) नल्याएपछि आज दोस्रोपटक त्यहाँ मतदान भएको हो ।
जर्जियामा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा छन् । यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक छन् ।
त्यहाँ दुई सिनेट सदस्यका लागि ५० लाखभन्दा बढीले मतदान गरेको अनुमान छ । यसमध्ये अग्रिम मतदानमा ३० लाखभन्दा बढीले मत दिइसकेका छन् ।
आजको निर्वाचनले सिनेटमा रिपब्लिकन वा डेमोक्र्याट्स कसलाई बहुमत दिलाउँछ भन्ने निर्धारण गर्नेछ । यसै कारण यो निर्वाचनप्रति सिंगो अमेरिका र बाह्य दुनियाँको समेत ठूलो चासो छ ।
कुल १०० सदस्यीय सिनेट सिटमध्ये हाल रिपब्लिकनका ५० र डेमोक्र्याटका ४८ सदस्य छन् । बहुमत हुनका लागि कम्तिमा ५१ सदस्य हुनुपर्नेछ ।
आजको निर्वाचनमा रिपब्लिकनका दुईमध्ये एकजनाले जितेमा उसको बहुमत कायम रहनेछ । डेमोक्र्याट्सलाई सिनेटमा बहुमत हासिल गर्न दुवै सिट जित्नुपर्ने बाध्यता छ ।
दुवै सिट जित्दा ५० पुगेपछिको बराबरी अवस्थामा उपराष्ट्रपतिले पनि मत दिने पाउने व्यवस्थाका कारण त्यसमा कमला ह्यारिसको रोल निर्णायक हुनेछ । यद्यपी विभिन्न सर्वेक्षणले डेमोक्र्याटको पल्ला भारी हुने देखाएका छन् ।
डेमोक्र्याट्सले सिनेटमा बहुमत हासिल गरे जनवरी २० मा राष्ट्रपतिको पदभार सम्हाल्ने जो बाइडेनका लागि आगामी चार वर्षे कार्यकाल निकै सहज हुनेछ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको दल डेमोक्र्याट्सको बहुमत छ ।
सिनेटमा पनि बहुमत हुँदा बाइडेनलाई अमेरिकाको भावी विदेश नीति, बन्दुकमाथिको नियन्त्रण प्रयास, जलवायु परिवर्तन जस्ता प्रमुख सवाल र अन्य नीति तथा कार्यक्रम पारित गराउन सहज हुनेछ । अन्यथा रिपब्लिकनको बाधा सधैं सामना गर्नुपर्ने हुन्छ ।
त्यसैले रिपब्लिकन र डेमोक्र्याट्सले यो निर्वाचनलाई निकै महत्व दिएर झनै कडा प्रतिस्पर्धाको माहोल बनाएका छन् । रिपब्लिकनले सिनेटको आफ्नो वर्चस्व गुम्न नदिने यो निर्वाचनलाई निकै जोड दिएको छ ।
नतिजा कहिले आउला ?
मंगलबार साँझ ७ बजे मतदान प्रक्रिया पुरा भएलगत्तै मतगणना कार्य थालनी हुनेछ । यद्यपी अन्तिम मतपरिणाम आउन भने केहीदिन लाग्ने देखिन्छ । हुलाकमार्फत् पठाइएको मतपत्र गन्नु पर्ने र विदेशमा रहेका मतदाताको मतपत्र आइपुग्न समय लाग्ने भएकाले अन्तिम मत परिणाम आउन केही दिन लाग्ने सिएनएनले उल्लेख गरेको छ ।
विदेशका विभिन्न नियोग तथा मिसनहरुमा कार्यरत यहाँका १८ हजारभन्दा बढी मतदाताको मतपत्र आइपुग्न केही समय लाग्नेछ । मतदानस्थलमै गएर गरिएको अग्रिम मतदान र मंगलबारको मतदानको गणना भने छिटै हुने अपेक्षा छ । यद्यपी झिनो अन्तरको हारजित हुने सम्भावनाका कारण आजै टुंगो लाग्न भने कठिन छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




