
वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए ।
ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थिए । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाए ।
राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र्यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटोल बाहिर सुरक्षार्थ रहेका प्रहरीका “ब्यारिकेड”लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए । उत्तेजक भिडका कैयौं सदस्य संसद भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अबरुद्ध बनाएका थिए । साथै प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उनको कुर्सीमा बसेर तस्वीर समेत खिचाएका थिए ।
संसद भवन क्यापिटोलभित्रका आक्रमणकारीलाई बाहिर निकाल्न प्रहरीलाई चार घण्टा लागेको थियो । दक्षिण क्यालिफोर्निया निवासी एक ट्रम्प समर्थकको गोली लागेर मृत्यु भएको थियो । तर पछिल्लो समय प्रहरीले उक्त घटनामा चार जनाको मृत्यु भएको जनाएको छ । बाइडेनले उक्त हिंसालाई “राज्य विद्रोह” संज्ञा दिएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई तत्कालै हिंसामा संलग्नलाई शान्ति कायम गर्नका लागि आह्वान गर्न आग्रह गरेका छन् । “हाम्रो प्रजातन्त्र अभूतपूर्व आक्रमणको निशानामा परेको छ,” बाइडेनले आफ्नो गृहराज्य डेलावेयरबाट भने । “यो मतभेद होइन । यो अव्यवस्था हो । यो अराजकता हो ।
यो राज्य विद्रोह सरह हो । यसको तत्कालै, अहिल्यै अन्त हुनु पर्दछ ।” राष्ट्रपति ट्रम्पले तत्कालै एक भिडियो सार्वजनिक गर्दै आफ्ना समर्थकलाई घर फर्कन अनुरोध गरेका थिए । तर उनले उक्त भिडियोमा चुनावमा धाँधली भएको पुनः दोहोर्याएका थिए । “हामी पनि शान्ति चाहन्छौं । त्यसैले घर जानुहोस् । म तपाईंलाई माया गर्दछु––तपाइँहरु साँच्चिकै विशिष्ट हुनुहुन्छ ।” फ्लोरिडाबाट आएकी ट्रम्प समर्थक ४३ वर्षीया सोन्या फिट्जेराल्डले संसद भवन क्यापिटोलको सिँढीमा उभिएर भनिन, तपाईंहरुले यस घटनालाई इतिहासको पानामा पढ्नु हुनेछ ।”
यसैबीच, सामाजिक सञ्जाल कम्पनीहरु ट्वीटर र फेसबुकले राष्ट्रपति ट्रम्पका अकाउन्टलाई अस्थायी रुपमा रोक लगाएका छन् । उनीहरुले ट्रम्पका ट्वीटहरुले देशव्यापी हिंसा भड्काएको भन्दै अकाउन्ट बन्द गरेको जनाएका छन् । यदि ट्रम्पले गलत रबैया जारी राखे ट्वीट र फेसबुक दुबैले स्थायी रुपमा अकाउन्ट बन्द गरिदिने घोषणा गरेका छन् ।
डेमोक्रेटिक पार्टीले जर्जियाको दुबै सिनेट सदस्यमा विजयी हासिल गरेको समाचार सार्वजनिक भएलगत्तै संसदमा आक्रमण भएको छ । जर्जियामा डेमोक्रेट पार्टीको विजयले अमेरिकी माथिल्लो सदनमा अब डेमोक्रेटको बहुमत कायम भएको छ भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि डेमोक्रेटको बहुमत छ । दुबै सदनमा डेमोक्रेटको बहुमत कायम भएकाले अब राष्ट्रपति निर्वाचित जो बाइडेनले आफूले चाहेका विधेयकहरु सहजै पारित गराउन सक्नेछन् ।
इतिकासकारको भनाईमा अमेरिकी संसद भवन क्यापिटोलमा यो दोस्रो पटक हमला भएको हो । यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले क्यापिटोलमा आक्रमण गरी आगो लगाइदिएका थिए । दुई सय वर्षभन्दा बढी समयदेखि अमेरिकी संसद अर्थात् कङ्ग्रेसको संयुक्त सदनले नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई सहज र शान्तिपूर्वक प्रमाणीकरण गर्ने प्रचलन थियो । अमेरिकी संविधान र कानुन बमोजिम अमेरिकी दुबै सदनले अमेरिकी मतदातालाई जिताएर पठाएका इलेक्टोरल मतलाई गणना गरी त्यसलाई प्रमाणित गर्ने र संयुक्त सदनले राष्ट्रपति निर्वाचित भएको अन्तिम घोषणा गर्दछ । संसदको संयुक्त सदनले घोषणा गरेका राष्ट्रपतिले जनवरी २० मा विशेष सार्वजनिक कार्यक्रमबीच सपथ लिने कार्यक्रम राखिने गरिन्छ ।फाेटाेःअल जजिरा








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




