अब अन्तर बैंक एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने, महिनामा २ पटक निःशुल्क

-



     सफल आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशिका २०७७ लाई संशोधन गरेको छ । संशोधन गरिएको व्यवस्था अनुसार अब एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डले अर्को बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने भएको छ ।

तर राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्रत्येक महिनामा २ पटकको कारोबार निःशुल्क गर्नुपर्ने भएको छ । दुई पटकभन्दा बढी कारोबार गरेको हकमा भने बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने भएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर सेवा शुल्क बारे पूर्व जानकारी गराएर मात्र इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ वापतको शुल्क लिन सक्ने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल, इन्टरनेट, एसएमएस बैकिङ सेवाको आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड हराएमा, बिर्सिएमा आफैं प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिएका छन् ।