मास्क लगाएका व्यक्तिलाई चिन्ने प्रविधिको विकास

-



     मनाेज अधिकारी    
     पौष २५ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २५ पुस । मास्क लगाएका मानिसलाई कसरी चिन्ने होला ? अझ अनुसन्धानमुलुक कार्यका लागि यो विषय कत्तिको चुनौतीपूर्ण रहेको होला ? यो धेरैले सोचेको विषय हो ।

तर अब यसको समाधान पनि एक नयाँ प्रविधिको विकासले गरिदिने भएको छ । जापानको प्रविधि कम्पनी एसइसीले हालै यो प्रविधि विकास गरि प्रयोगमा ल्याएको हो ।

यो ९९.९ प्रतिशत प्रभावकारी रहेको समेत दावी गरिएको छ । यो प्रविधिले अनुहारमा मास्कले नछोपेका भागको शुक्ष्म चित्र लिएर तुरुन्तै पहिचान गर्छ । जसमा आँखालाई पहिचानको प्रमुख अंग मानिएको छ । एक सेकेण्डभित्रै यो प्रविधिले मानिसको पहिचान गरिसक्छ ।

यो निकै प्रभावकारी र उपयोगी समेत हुने ठानेपछि हाल जापान, बेलायत, जर्मनी, स्वीडेन लगायत मुलुकले केही सेवामा यसको प्रयोग थालेका छन् । जस्तै लण्डनमा प्रहरीले भिडभाड हुने ठाउँमा मानिसको पहिचान गर्न यसको प्रयोग गरेको छ ।

जर्मनी र स्वीडेनले आफ्नो विमान सेवामा यात्रुको पहिचानका लागि यो प्रविधि प्रयोगमा ल्याएको छ । जापानमा चाहिं केही सेल्फ सपिङ सेन्टरमा यसको प्रयोग भइरहेको छ । समाचार संस्था रोयटर्सका अनुसार, यी सबैले हाल यो प्रविधिलाई परीक्षणका रुपमा प्रयोग गरेका हुन् ।

यो प्रविधि प्रयोगमा आए मानिसहरुले अनुहारका आधारमा पहिचान खुलाउनु पर्ने ठाउँहरुमा मास्क लगाएको अवस्थामा पनि अनुहार देखाउनु पर्ने छैन । अहिले कोरोना भाइरसका कारण सर्वत्र मास्क लगाउनु पर्ने नियम छ । यस्तो स्थितिका लागि यो प्रविधि निकै उपयोगी ठानिएको छ ।