स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंक बीच सम्झौता

-


     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित


काठमाडाैं, २६ पुस । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । आज पौष २६ गते स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित कार्यक्रममा यी दुइ संस्था बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता गरिएको हो । स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा परिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको जनाइएको छ ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । एससिटि सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएस, इ–कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बताइएको छ ।