
काठमाडौ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताए ।
राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे । उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ÷छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए ।
अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उहाँले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे। यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, “जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो । सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको अवस्था आयो । सरकारका प्रस्ताव निर्णयार्थ पेश पनि नगरिदिने प्रयास भयो ।” वर्तमान सरकार गठन भएयता भौतिक विकासनिर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ऐतिहासिक काम भएको जनाउँदै उनले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरिएको रानीपोखरी यसपालि निर्माण सम्पन्न भएको बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त करीब सात लाख घर निर्माण सम्पन्न भएको, धरहरा पुनःनिर्माण अन्तिम चरणमा पुगेको, काठमाडौँको सौन्दर्य अभिवृृद्धि भएको, सांस्कृतिक सम्पदाको निर्माण भएको, तराईका शहरमा सयौँ किमी ढल निर्माण गरी सफा गरिएको, सिंचाइ, सडक, कृषिको आधुनिकीकरण र व्यावसायिकरण, औद्यौगिक क्षेत्र विकास र विस्तार तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम भएको विवरण प्रस्तुत गर्दै अहिलेको जस्तो द्रुततर गतिमा विकासनिर्माणका काम कहिल्यै नभएको जिकिर गरे।
आफूले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न उल्लेख्य पहल गरेको उनले स्पष्ट पारे । “सन् १९२८ देखि शारदा नहरमा भारतमा पानी गइरहेको हाम्रो भूमि बाँझै छ, तर बोल्न नसक्ने अनि आफूले त्यस विषयमा बोल्दा तपाईँका पालामा मात्र भारतसँगको सम्बन्धमा धेरै बहस किन हुन्छ भन्ने ?” उनले प्रश्न गरे । कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा बनाउँदा सम्बन्ध बिग्रिन्छ भनेको तर सरकारले नेपालको नयाँ नक्शामा उक्त भूमि समेटेर संविधानको अङ्गसमेत बनाएको बताउँदै उनले भने, “अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ ।
नेपाली भूमि फिर्ता भएरै छाड्छ ।” संसद्को सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण गराए । यसअघि पनि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेपछि त्यसबाट आत्तिएर सरकार ढलाउने काम भएको उनको भनाइ थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



