सर्वोच्चले संसद विघटन सदर गरे चुनाव निर्धारित मितिमै हुन्छ: तिमिल्सिना

-



     सफल आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित



पोखरा, २ माघ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतको सरकार देशमा ५ वर्ष पनि नटिक्नु विडम्बना भएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा यदि सर्वोच्च अदालतले संसद विघटन सदर गर्‍यो भने चुनावमा जानैपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘संसद विघटनको मुद्दा हाल विचाराधीन रहेकोले चुनाव हुन्छ वा हुँदैन भनी अनावश्यक प्रचारवाजी गर्नु हुँदैन । सर्वोच्च अदालतको फैसलाअनुसार जे निर्णय हुन्छ त्यसलाई मान्य गरी अघि बढ्नु पर्छ । यदि सदर गर्‍यो भने चुनावमा हुन्छ, हुन्छ । चुनाव गर्नै पर्छ । निर्धारित समयमा चुनाव हुनुपर्छ ।’

देशमा अस्थिर सरकार भएको हुँदा ५ वर्षसम्मको लागि सरकार फेरबदल नहुने गरी नेपाली जनताले नेकपालाई बहुमत दिए पनि नेकपाले हाल निकास दिन नसकेको उनले बताए ।

मिडिया विधेयक संशोधन गरी आउने क्रममा रहेकोले हाल संसद विघटन भएकोले मिडिया विधयकसहितका अन्य विधयकहरु प्रतिधिसभा नहुँदा शुन्य भएको बताए ।