दुगड प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ माघ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाको स्थानमा नियुक्त भएका हुन ।

मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष आर्थिक सल्लाहकार दुगडले सफल आवाजलाई बताए । “औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहनेछ”, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडले स्पष्ट पारे ।

बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए । विराटनगरका स्थायी निवासी दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग आबद्ध छन् ।