डिम्याट प्रयोगकर्ता करिब २६ लाख पुगे , बैंक तथा क्यापिटलमा खाता खोल्नेको भिड

-



     सफल आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ माघ । डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य वृद्धि भएको छ । शेयर लगानीकर्ताहरुको सम्पूर्ण तथ्यांक राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार र सोमबार दुई दिनमा मात्रै ८२ हजार भन्दा धेरै डिम्याट खाता सञ्चालनमा आएका छन् ।

शुक्रबार साझसम्म डिम्याट प्रयोगकर्ताहरुको संख्या १५ लाख ३ सय ४५ मात्रै रहेको थियो । सोमबार साझसम्म आइपुग्दा भने २५ लाख ८२ हजार १ सय ४ डिम्याट प्रयोगकर्ता पुगेको सीडीएसले जनाएको छ । केहि दिनयता बैंक तथा वित्तीय संस्था र क्यापिटलहरुमा समेत सर्वसाधारणको भीड बढेको छ ।

शुक्रबारदेखि नेपाल इन्फ्रास्ट्रक्चरको साधारण सेयर (आईपीओ) खुलेपछि सर्वसाधारणहरुको बैंकहरुमा घुइचो लागेको हो । यस बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै आईपीओ निश्काशन गरेको । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।

यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ । सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ ।