नेप्से ६.८१ अंकले घट्यो, ग्लोबल आइएमईको कारोबार सबैभन्दा बढी

-



     सफल आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ माघ । साताको चौथो दिन बुधबार शेयर बजार ओरालाे लागेको छ । आज नेप्से परिसूचक ६.८१ घटेको छ भने २४६६.९२ विन्दुमा गएर रोकिएको छ । नेप्से ०.२८ प्रतिशतले घटेको छ । सेन्सेटिभ परिसूचक ०.९२ अंकले बढेर ४५२.२९ विन्दुमा पुगेको छ ।

आज २०२ कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार भएका १२ उपसमूहमा ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहमा रातो लागेको छ । आज भएको कारोबारको आधारमा ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी ५६ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर बजार भईरहेको बढोत्तरीको चकममा आज ब्याकगियर लाग्नुमा निकटका दिनमा हुन लागेका राजनीतिक दलका आन्दोलन र प्रदर्शनका कारणलाई लिईएको छ ।

बिहिबार नेकपाको प्रचण्ड-नेपाल समूहले आम हड्ताल गर्ने बताईरहँदा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको माघ २३ गते आमसभा गर्ने यसअघि नै घोषणा भईसकेको हो । शेयर बजार उकालोको यात्रामा लागिरहेको परिवेशमा राजनीतिक संक्रमणको कारण शेयर बजार प्रभावित भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

आज शेयर बजारलाई साथ दिने उपसमूहरुमा बैंकिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फण्ड रहेका छन् । शेयर घटेका उपसमूहरुमा व्यापारीक, होटल, विकास बैंक, फाईनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य तथा जीवन बीमा उपसमूह रहेका छन् ।