धान खरिद जारी

-



     सफल आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित



वीरगञ्ज, २२ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरिदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरिद कार्य जारी राखेको छ । सङ्घीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान पाँच हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म रु ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र तीन लाख चार हजार ५०० मूल्य बराबरको १०५ क्वीन्टल जिरा मसीनो धान खरिद गरेको सो कार्यालयले जनाएको छ ।

प्रतिशतको हिसाबले हेर्ने हो भने हालसम्म सोना मन्सुली धान ७४ प्रतिशत र जिरामसिनो धान २.८ प्रतिशत खरिद गरिएको छ । तोकिएको लक्ष्य प्राप्ति नहुञ्जेलसम्म धान खरिद गर्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले राससलाई बताए । कार्यालयले अहिले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ८८५ रुपैयाँ र जिरामसिनो धान प्रति क्वीन्टल दुई हजार ९०० रुपैयामा खरिद गर्दै आएको छ । सोना मन्सुली धान खरिदमा लक्ष्य प्राप्ति हुन सकेपनि जिरामसिनो धान कम उत्पादन भएकोले लक्ष्य भने प्राप्ति हुन नसक्ने सो कार्यालयले जनाएको छ ।

कार्यालयले मध्यमवर्गीय किसानको धान मात्र खरिद गर्ने गरेको छ । साना किसानले उत्पादन गरेको धान वर्षभरि आफूले खानको लागि राख्ने गरेको र बढी भएको धान मात्र कार्यालयलाई बेच्न आउने गरेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । जबसम्म प्रधान कार्यालयले धान खरिद गर्न निर्देशन नदिएसम्म सो कार्यालयले धान खरिद गर्ने कार्यलाई जारी राख्ने छन् । शुरुमा दैनिक एक हजार क्वीन्टलसम्म धान खरिद हँुदै आएकोमा अब किसान पातलिँदै गएकाले दैनिक ५०० क्वीन्टल मात्र धान खरिद हुने गरेको सो कार्यालय जनाएको छ ।

निजी गल्ला व्यापारी भन्दा सरकारीस्तरमा सोना मन्सुली धान साढे ६ प्रतिशत र जिरामसिनो धान साढे ६ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेकाले पर्सा, बाराका किसान धान बेच्न संस्थानतर्फ आकर्षित भएका छन् । अघिल्लो वर्षको बाँकी रहेको संस्थानसँग सोना मन्सुली चामल १७२ दशमलव ५५ क्वीन्टल र स्टीम जिरामसिनो चामल ९९ क्वीनटल १० केजी मौज्दात अवस्थामा रहेको छ । संस्थानले उत्पादन गरेको चामल प्रदेश २ को वीरगञ्ज, रौतहट, हेटाैंडा र चितवन कारागारमा पठाउँदै आएको छ भने बाँकी चामल माग अनुसार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा, काठमाडाैं, दाङ, भैरहवाको कार्यालयमा पठाउने गरेको र त्यहाँबाट सो चामल सुदूरपहाडी क्षेत्रमा जाने गरेको छ ।