मलेसिया प्रकरणमा पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ

-



     सफल आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित



काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण) को अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।

अर्यालमाथि मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको गम्भीर आरोप लागेको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले अर्याल भारतबाट पक्राउ परेको सूचना प्राप्त भएको पुष्टि गरेका छन् । “पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ पर्नुभएको हो भन्ने जानकारी आएको छ, थप विवरण क्रमशः सार्वजनिक हुँदै जानेछ। यद्यपि, अर्याल पक्राउ परेको विषयमा नेपाल प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

प्रकरणको पृष्ठभूमि र सीआईबीको अनुसन्धान

मलेसिया रोजगारी प्रकरणमा भएको भनिएको अनियमितता र अवैध आर्थिक कारोबारबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

  • यसअघिका पक्राउ : यही प्रकरणमा प्रहरीले यसअघि नै तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ ।
  • अनुसन्धानको दायरा : पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ । कामदार पठाउने प्रक्रियामा संलग्न अन्य व्यक्ति तथा आर्थिक सञ्जालबारे समेत प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।