पत्रकार पौडेलको गीति संग्रह ‘लकडाउन–१२०’ विमोचन

-



     सफल आवाज    
     माघ २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ माघ । पत्रकार राजाराम पौडेलको गीति संग्रह ‘लकडाउन–१२०’ शनिबार विमोचन भएको छ ।

उक्त कृतिको प्रमुख अतिथि वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइराला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, राष्ट्रिय लोक तथा दोहोरीगी प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, स्रष्टाकी छोरी आहाना पौडेलले संयुक्त रुपमा विमोचन गरे ।

पोखरा थियटरको आयोजनामा शनिबार आयोजित समारोहमा बोल्दै प्रमुख अतिथि कोइरालाले साहित्यिक क्षेत्रमा एउटा इँट्टा थपिएको बताइन् । उनले लकडाउनको समयमा पनि स्रष्टाको लेखनीलाई निरन्तरता दिँदै कृति निकालेकोमा हार्दिक बधाई सहित आगामी कृतिको लागि शुभकामना पनि दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले कोरोना कहरमा मानिस वेचैन भएको अवस्थामा समेत पत्रकार पौडेलले गरेको प्रयास प्रशंसनीय भएको बताए । प्रतिष्ठान पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले नेपाली गीतसंगीत क्षेत्रले अर्को एउटा गीतकार पाएको बताए ।

पत्रकार महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघ सदस्य समेत रहेका स्रष्टा पौडेलको कृतिले सिंगो पत्रकारिता क्षेत्र हर्षित भएको बताए । उनले आगामी कृति छुट्टाछुट्टै विधामा थप परिस्कृत भएर आउने अपेक्षा गरे ।

कृति समीक्षा गर्दै साहित्यकार जीवन सागर भण्डारीले पहिलो प्रयासमै स्रष्टा पौडेलले यति राम्रो कृति पाठकसमक्ष ल्याएकोमा बधाई दिए ।

गीतकार आरजू विष्ट सल्यानीले स्रष्टा पौडेललाई पुस्तक प्रकाशनको लागि पटक पटक हौसला दिएको स्मरण गर्दै उनको लेखनीले विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले स्रष्टा पौडेल बहुमुखी प्रतिभाका धनी भएको बताए ।

पोखरा थियटर अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार माेति भुजेल, रेशम गिरी, रुपिन्द्र प्रभावी कटु लगायतले बोलेका थिए ।

बीएन पुस्तक संसारको प्रकासनमा निस्केको सो कृतिको भाषिक शुद्धता तथा सम्पादन विजय नेपाल र रुपिन्द्र प्रभावी कटुले गरेका थिए ।

कोभिड –१९ ले आक्रान्त भएको बेलामा पत्रकार पौडेलले १ सय २० दिन लकडाउनको सम्झनामा १ सय २० वटै गीत, गजल, राेइला, दाेहाेरी लगायत कृतिमा समेटेका छन् । करिब १ सय ५० पृष्ठको कृतिको मूल्य २ सय २५ रुपैयाँ छ ।