कवि अधिकारीको कविता संग्रह “टुक्राटाक्री” बजारमा

-


     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित


पोखरा, २९ माघ । कवि एबं लेखक रविकिरण अधिकारीको नयाँ कविता संग्रह “टुक्राटाक्री” हालै प्रकाशित भएको छ । २०११ साल माघ १९ गते लमजुङ दुराडाँडामा जन्मेका कवि तथा लेखक अधिकारीले जिबनका भोगाईका आफ्ना अनुभुतीलाई यो कविता संग्रह मार्फत पस्केका छन् ।

लामो समय शिक्षण पेशा र विभिन्न गैह्रसरकारी संस्थामा कार्यरत रहेका अधिकारीले देश विदेशमा भ्रमण रहँदा विभिन्न परिवेशमा सृजना गरेका कवितालाई लिपिबद्ध गर्दै ४४वटा कविता यो संग्रहमा संग्रहित गरेर पाठक समक्ष ल्याएका छन ।


कवि अधिकारीले आफ्ना कविता मार्फत देशप्रेम एंव मातृभुमिप्रतिको अगाध माया प्रकट गरेका छन् । देशमा भएको राजनीतिक बेथिति प्रति पनि लेखकले कवितामा मार्फत तिखो व्यङ्ग गरेका छन् ।


विभिन्न ठाँउको वर्णनसंगै परिवार प्रतिको माया कवितामा झल्किएको छ । २०७७ मंसिरमा पहिलो संस्करणका रुपमा प्रकाशित अधिकारीको यो कविता संग्रहले सबै साहित्यानुरागीको मन जित्ने अपेक्षा गरिएको छ ।

लेखक रविकिरण अधिकारी