
लमजुङ, ०१ फागुन। कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि काउँलेपानी घरवास (होमस्टे) आजदेखि खुल्ला भएको छ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई खुल्ला गर्ने भएको हो ।
काउलेपानी पर्यटन विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । कोभिडका कारणले सरकारले लकडाउन गरेको गत चैत ११ गतेदेखि नै बन्द रहेको यस घरवासमा आजदेखि सुरक्षा सतर्कता अपनाउँदै घरवास सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष देबबहादुर गुरुङले बताए । “यहाँ घरवासमा आउने पर्यटकलाई नै अनिवार्य मास्क प्रयोग गराउँछौँ, हामीले पनि प्रयोग गर्छौँ साथै, सेनिटाइजारलगायत सुरक्षा मापदण्ड अपनाउनेछौँ”, उनले भने ।
सामाजिक दूरी कायम गर्दै विगत जसरी नै पर्यटकलाई स्वागत सत्कार तथा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिने उक्त समितिले जनाएको छ । समितिका अनुसार आएका पर्यटकको मनोरञ्जनका लागि गुरुङको लोपोन्मुख कृष्ण चरित्र, घाटु, घ्याब्रे नाचलगायत विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गर्नेछ । सन् २०११ बाट सञ्चालनमा आएको यस घरवासमा १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरवास रहेको छ भने, यी सबै घरवासमा गरी ८८ वटा पर्यटक एकै रातमा सुत्न सकिने बताइएको छ ।
काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे«, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डा हर्कपिकलगायत एक दर्जन हिम श्रृङ्खला देख्न सकिन्छ । साथै शाहवंशीय राजाको उद्गम थलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । यहाँ पूजा तथा दर्जन गर्नाले मनोकांक्ष पूरा हुने जनविश्वास छ । त्यस्तै, गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । प्रति पर्यटकलाई एक रातको रु एक हजार ५० लाग्ने गर्दछ । जिल्लामा विस्तारै बन्द रहेको घरवास सञ्चालन हुने तयारीमा रहेका छन् ।
गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टिका (अक्षता)ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीन पटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन् । अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ ।
स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । त्यस्तै, रात्रिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँछन् । छुट्टिने बेलामा विदाई गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोसेली स्वरुप सेल रोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ ।
बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साढे एक घण्टा समय लाग्छ । पैदल यात्रुहरूका लागि सिंढी निर्माण गरिएको छ भने, सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तोरोन्ती गरिएको छ । त्यस्तै, कोभिडले प्रभावित पारेको जिल्लाकै सबैभन्दा पहिला सञ्चालनमा आएको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ र वडा–४ भुजुङ, मस्र्याङ्दी गाउँपालिकास्थित सिउरुङ, राइनास घरवास सञ्चालनमा आइसकेको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



