छुवाछूत र अन्धविश्वास अन्त्यका लागि नयाँ सामाजिक अभियान शुरु गर्न राष्ट्रपतिबाट आह्वान

-



     सफल आवाज    
     फागुन ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताएकी छन् ।

महिला हिंसा न्यूनीकरणका लागि राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गरिन ।

महिलाविरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताइन ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरण गर्न नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गरिने प्रतिबद्धता व्यक्त गिन । पीडितलाई तत्काल राहत र पुनःस्थापनाका विषयमा थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको जनाउँदै मन्त्री महतोले त्यसका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहने बताइन ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि निर्माण भएका कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखिन । राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्य, संयुक्त राष्ट्रसङ्घीय सिड कमिटीका उपाध्यक्ष वन्दना राणासहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीले मानसिकता परिवर्तन गर्नु नै अहिलेको ठूलो चुनौती रहेको धारणा राखिन ।