
फुङ्लिङ, ८ फागुन । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । विवरण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ ।
विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्कलन स्टेशन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण सङ्कलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताए । वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ताप्लेजुङ सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण सङ्कलन कार्यमा सहयोगसमेत माग गरेको छ । कार्यक्रममा सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने बिश्वास दिलाए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए ।
परिचयपत्रको विवरण सङ्कलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यही एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले आग्रह गरे । सङ्कलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने बनाउने तयारी भइरहेको महानिर्देशक बस्नेतले बताए ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



