प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम प्रदान

-


     सफल आवाज    
     फागुन ९ गते २०७७ मा प्रकाशित


काठमाडाैं, ९ फागुन । प्रभु क्यापिटल लिमिटेडले यहि फाल्गुण ८ गते राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले स्वागत मन्तब्य राख्दै मन्तव्यको क्रममा राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै हाम्रा बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताउदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताइन ।

प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले सञ्चालन गरेको कार्यक्रमलाई बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले सांकेतिक भाषामा प्रस्तुत गरेका थिए ।