
पोखरा, १४ फागुन । पोखरामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेंचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशे पुलको आवश्यकता बढेको छ । सोही आवश्यकता महसुस गर्दै पोखरा महानगरपालिकाले पहिलोपल्ट वडा ८, सिर्जनाचोकमा पेडेस्टल ओभर हेड ब्रिज (आकाशेपुल) निर्माण योजना अन्तिम चरणमा पुर्याएको छ । २ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिने सो पुल कोभिड–१९ प्रभावसँगै बिजुलीको हाइटेन्सन लाइन हटाउन तत्काल पहल नहुँदा समयसीमा भन्दा १ वर्ष बढी गुज्रिसकेको छ ।
महानगरले पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्ने योजना मुताबिक २ वर्षअघि सिर्जनाचोकलाई छानेर केएम/जयविष्णु निर्माण सेवालाई ठेक्का दिएको थियो । करिब १४ महिना अवधि राखेर २०७७ साउन २७ सम्म निर्माण पूरा गर्ने गरी ठेक्का दिइएकोमा निर्माण कम्पनीले कोरोना भाइरस महामारीको कारण तथा बिजुलीको हाइटेन्सन लाइन हटाउन सरोकारवाला पक्षले चासो नदिएको कारण देखाउँदै समयमै निर्माण गर्न नसकिएको दाबी गरेको छ ।
निर्माण कम्पनीका संचालक सोम थापाका अनुसार गत वर्ष चैतमा कोरोना भाइरस महामारीका कारण लकडाउन, निषेधाज्ञा भयो । काम गर्न पाइएन । तसर्थ १ वर्ष समय थप भएको हो ।
महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले पोल बिस्थापित गर्न आवश्यक लागतसहित इस्टिमेट भएर नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिई हाल पुराना पोल बिस्थापित भइसकेको बताए ।
यसअघि सो क्षेत्रको चारैतिर हाल पुराना खालका ८ मिटर अग्ला बिजुलीका पोल थिए । ती पोल हटाएर १६ मिटर अग्ला १६ थान पोल राखिएको हो।
खाल्डो खनेर पिल्लर तथा भर्याङ र राख्ने काम भइसकेको छ । गडर अर्थात बिमको काम थाँती नै छ।
उता, पोखरा महानगरका मेयर मानबहादुर जिसीले विविध समस्याले निर्माण अवधि बढेको स्वीकार्दै हाल द्रुत ढंगमा काम अघि बढाइएको बताए । महानगरले आवश्यकता हेरिकन पोखराका व्यस्त चोकहरुमा क्रमशः यसखालको पुल बनाउने योजनालाई अगाडि बढाउने उनको भनाइ छ ।

सिर्जनाचोक अलावा पोखराको व्यस्त चोकहरु महेन्द्रपुल, सभागृहचोक, पृथ्वीचोक, बिरौटा, बिपीचोक व्यस्त चोकमा पर्दछन् । पोखरामा बढ्दो जनघनत्व र सवारी साधनको कारण पोखराका मुख्य चोकहरूमा आकाशे पुलको आवश्यकता बढ्दै गएको हो । सिर्जनाचोकबाहेक ५ ठाउँमा आकाशेपुल निर्माणको लागि अध्ययन भइरहेको महानगरले जनाएको छ।
आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का तत्कालीन सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ सहयोग गरेका थिए।
स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज नेपालमै पहिलो पल्ट पोखरामा बन्न लागेको दाबी गरिएको छ । एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारै तिरबाट झर्न मिल्छ । आकाशे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिको सबै संरचना स्टिलको हुनेछ।
२०७६ जेठ ५ मा आकाशेपुल निर्माणको लागि सम्झौता भएको हो । पुलको गत वर्ष मंसिर अन्तिम साता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



