अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा

-


     सफल आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित


काठमाडौं, १६ फागुन । आगामी चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने समाजका अध्यक्ष डा चेतराज भट्टले जानकारी दिए ।

भट्टले गणितको महत्व र अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गर्न लागेकाे बताए । सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ । उनले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताए ।

सम्मेलनमा नेपाली गणितज्ञले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगत्मा परिचित गराउने उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँचवटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ । गत वर्ष गर्ने भनिएकाे सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन थालेको हो । नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन् ।